विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायलमा

साझा प्रेस
50
Shares

तेलअविव, इजरायल — हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल पुगेका छन्।

इजरायलको तेलअविवस्थित बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले उनीहरूलाई स्वागत गरेका थिए।

पत्रकारहरूसँग कुरा गर्दै आमा पद्माले आँसु झार्दै भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ। कृपया उनको रिहाइ गरिदिनुहोस्।” बहिनी पुष्पाले पनि भावुक हुँदै “हाम्रो कसैसँग दुश्मनी छैन, दाजुलाई विनासित्ती नराख्नुस्” भन्दै अपील गरिन्।

विपिन जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका बासिन्दा हुन्। उनी ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। ७ अक्टोबर २०२३ मा हमासले दक्षिण इजरायलको किबुजमा गरेको आक्रमणपछि उनी सम्पर्कविहीन छन्। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जनालाई हमासले बन्धक बनाएको थियो।

युद्धविरामको क्रममा केहीलाई मुक्त गरिए पनि विपिन अझै बन्धक अवस्थामा छन्। नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको भए पनि उनको अवस्थाबारे कुनै पक्का जानकारी छैन।

इजरायली विदेश मन्त्रालयका अनुसार, विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघको कार्यालयमा लैजाने र प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख तथा हमासविरुद्धको कारबाहीमा संलग्न कमान्डरहरूसँग भेट गराउने योजना छ। साथै, हमासले विपिनलाई बन्धक बनाएको किबुज क्षेत्रमा लगेर घटनाबारे प्रत्यक्ष जानकारी दिने तयारी छ।