दशैँअघि रसुवागढी नाका सञ्चालनमा आउने, ल्हेन्दे खोलामा बेलिब्रिज जडान सुरु

साझा प्रेस
0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्। त्यसका लागि ल्हेन्दे खोलामा बेलिब्रिज जडान कार्य सुरु भइसकेको छ।

मङ्गलबार ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना’को अवलोकनपछि नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री दाहालले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार, गल्छी–रसुवागढी त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ल्याई चाडपर्वका बेला रसुवागढी नाका सञ्चालन गर्न सम्बन्धित सबै निकाय परिचालित छन्। उनले भने, “रसुवातर्फको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ।”

गत असार २४ गते आएको बाढीले ल्हेन्दे खोलामा रहेको नेपाल–चीन मैत्रीको प्रतीक ‘मितेरी पुल’ बगाएको थियो। सो पुलको विकल्पस्वरूप हाल बेलिब्रिज जडानको कार्य अगाडि बढाइएको छ।

नेपाल, चीन र भारतबीचको व्यापार तथा आवागमन सहज बनाउने उद्देश्यले निर्माण भइरहेको त्रिदेशीय राजमार्ग नेपालको उत्तरतर्फको प्रमुख नाका रसुवागढी हुँदै चीन जोडिने रणनीतिक मार्ग हो।

सरकारले सडक पूर्वाधार, पुल निर्माण र सीमावर्ती सुविधाहरूमा तीव्रता दिई चाडपर्वअघि नै नाका सञ्चालन गर्ने लक्ष्य लिएको मन्त्री दाहालले बताएका छन्।