बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखलाई ‘अन्तर्राष्ट्रिय बाघ दिवस’का रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो विश्व बाघ सम्मेलनपछि यो दिवस मनाउने परम्परा सुरु गरिएको हो ।
उक्त सम्मेलनमा रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको नेतृत्वमा बाघ संरक्षण अभियान थालिएको थियो। त्यसयता बाघको संरक्षण, बासस्थानको रक्षा, र उनीहरूको घट्दो सङ्ख्याप्रति विश्व समुदायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आएको छ।
बाघको बहुआयामिक महत्त्व
बाघलाई प्राकृतिक सम्पदाका रूपमा मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ। खाद्य शृङ्खलाको शीर्ष शिकारी प्राणीका रूपमा बाघ जैविक सन्तुलन कायम गर्न सहयोग पुर्याउने वैज्ञानिकहरू बताउँछन् ।
वन्यजन्तु विज्ञहरूका अनुसार बाघलाई ‘अम्ब्रेला स्पेसिज’ पनि भनिन्छ। बाघलाई जोगाउन धेरै क्षेत्रफलको जंगल आवश्यक पर्ने भएकाले जब बाघ संरक्षित हुन्छ, सोही क्षेत्रभित्र अरू थुप्रै वन्यजन्तुहरू पनि सुरक्षित हुने गर्छन्। यस कारणले बाघ संरक्षणसँगै वन संरक्षण र अन्य प्रजातिको अस्तित्व र विकाससमेत सुनिश्चित हुने मानिन्छ ।
बाघको घट्दो संख्या र चुनौती
२०औँ शताब्दीको सुरुमा विश्वभर झन्डै एक लाख बाघ रहेको अनुमान गरिएको थियो। तर समयक्रममा जङ्गल फडानी, मौसम परिवर्तन, र अवैध सिकारका कारण बाघको संख्या घट्दै सन् २०१० सम्ममा करिब ३,२०० मा सीमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो।
यस संकटलाई रोक्नका लागि बाघ पाइने १३ मुलुक— नेपाल, भारत, भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुस— ले संयुक्त रणनीति बनाउँदै संरक्षण अभियानमा जुटेका छन्।
१३ मुलुकले सन् २०१० को सेन्ट पिटर्सबर्ग सम्मेलनमा सन् २०२२ भित्र बाघको संख्या दोब्बर बनाउने लक्ष्यसहित साझा कार्यक्रम सुरु गरेका थिए। यस अभियानमा विभिन्न अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरूको सहयोग रहेको छ।
नेपालमा पनि चितवन, बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमार्फत बाघ संरक्षणको प्रयास हुँदै आएको छ। पछिल्ला वर्षहरूमा नेपालले बाघ संरक्षणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ।
बाघ संरक्षणको सफलताका लागि जनस्तरमा व्यापक जनचेतना आवश्यक छ। बाघको बासस्थानको रक्षा, वातावरणीय सन्तुलनको महत्व, र अवैध सिकारविरुद्ध कानुनी कार्यान्वयनको बलियो संयन्त्र बनाउनु आजको प्रमुख आवश्यकता हो।
आजको ‘विश्व बाघ दिवस’ले बाघ जोगाउने जिम्मेवारी मात्र होइन, भविष्यका पुस्तालाई सुरक्षित वन्यसम्पदा हस्तान्तरण गर्ने हाम्रो कर्तव्य पनि स्मरण गराउँछ। बाघ बचाउने प्रयास हामी सबैको साझा अभियान हो।
प्रतिक्रिया