पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली ६३ रनले पराजित


नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो। कर्णालीका पवन सर्राफले सर्वाधिक ३२, अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र सोमपाल कामीले २१ रन बनाए।

पोखराका मेहदी हसनले ३ विकेट लिए। धनञ्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो। यो जारी प्रतियोगिताकै उच्च स्कोर हो भने एनपीएल इतिहासको दोस्रो उच्च स्कोर हो। गत संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो।

पोखराका ओपनर युवराज सामराले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए। जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन्।

कुशल भुर्तेलले ३९ बलमा ७ छक्कासहित अर्धशतकीय इनिङ्स खेले। कप्तान चमिका करुणारत्नेले ११ बलमा ३ छक्का र ३ चौकासहित अविजित ३५ रन जोडे।

कर्णालीका सोमपाल कामीले २ तथा मार्क वाटले १ विकेट लिए।

यो जितसँगै पोखराले २ अंक जोडेको छ। पाँच खेल खेलेको कर्णालीको भने यो लगातार तेस्रो हार हो। उसले अहिलेसम्म दुई खेल जितेको छ।