यु-१९ एसिया कपमा भारतविरुद्ध नेपालको ब्याटिङ सुरु


यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

ओमानको अल अमेरातमा जारी खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ थालेको हो।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालले समूह चरणको दोस्रो खेलमा मंसिर २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र अन्तिम खेलमा मंसिर २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।