२०७७ सालमा प्रतिनिधिसभा विघटनसँगै विभाजित भएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई घटक एमाले र नेकपाबीच स्थानीय तहबाट सहकार्यको प्रयास सुरु भएको छ।
ललितपुरको गोदावरी नगरपालिका–३ मा एमाले र नेकपाका वडा कमिटीले शनिबार एउटै ब्यानरमा संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेका हुन्।
तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरसहितको निमन्त्रणापत्र तयार पारिएको छ। उक्त निमन्त्रणापत्र दुवै दलका वडा कमिटी अध्यक्षले संयुक्त रूपमा नेताहरूलाई हस्तान्तरण गरेका छन्।
शनिबार बिहान टौखेलस्थित गोदावरी पार्टी प्यालेसमा हुने कार्यक्रमको संयोजन एमालेका वडा कमिटी अध्यक्ष प्रल्हाद सिलवाल र नेकपाका भगतमान बम्जनले गरेका छन्।
एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार पार्टी विभाजनले वाम आन्दोलनमा ठूलो क्षति पुर्याएको अवस्थामा स्थानीय तहबाटै सहकार्यको वातावरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको हो।
आसन्न स्थानीय तह निर्वाचनमा कार्यगत एकता र चुनावी तालमेल गर्दै वाम आन्दोलनलाई पुनर्गठन गर्ने उद्देश्यले संयुक्त कार्यक्रमको सुरुवात ललितपुरबाट गरिएको उनले बताए।
तत्कालीन नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्र अलग-अलग राजनीतिक धारमा अघि बढेका थिए। पछिल्लो समय माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट घटकबीच एकता भएपछि नयाँ नेकपा बनेको छ। यस्तो अवस्थामा एमाले र नेकपाका स्थानीय कमिटीबीच सुरु भएको संयुक्त कार्यक्रमलाई वामपन्थी सहकार्यको प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया