देशका विभिन्न भूभागमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो समय मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सर्यो भने पश्चिम नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेको महाशाखाले जनाएको छ।
पूर्वी नेपालतर्फ भने न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेकाले नेपालबाट केही टाढा रहेको छ। मौसमविद्का अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिक हुँदा वर्षाको गतिविधि बढ्ने गर्छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि वर्षाको सम्भावना कायमै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रतिक्रिया