दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा हिमपहिरोमा परी गत वर्षदेखि बेपत्ता पाँच आरोहीको शव फेला परेको छ।
गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पाँच विदेशी आरोहीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काले जानकारी दिए।
स्थानीयले हिमाल क्षेत्रमा पाँचवटा शव देखिएको जानकारी गराएपछि शव सङ्कलन तथा पहिचानका लागि ‘ड्रिम डेस्टिनेसन’ले शुक्रबार हेलिकोप्टर पठाएको थियो। खराब मौसमका कारण तत्काल घटनास्थल पुग्न नसकेको हेलिकोप्टर सोमबार भने घटनास्थलसम्म पुगेको थियो।
सोमबार तीनवटा शव गोंगर ल्याइसकिएको र बाँकी दुईवटा शव ल्याउन हेलिकोप्टर पुनः घटनास्थल गएको प्रहरीको भनाइ छ। मौसममा सुधार आए आजै पाँचवटै शव गोंगर ल्याउने तयारी गरिएको सूचना अधिकारी खड्काले बताए।
गत वर्ष नेपाली तथा विदेशी गरी विभिन्न समूहका १५ जना आरोहणका लागि पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमालतर्फ गएका थिए। आरोहणका क्रममा हिमपहिरो आएपछि आठ जनाको सकुशल उद्धार गरिएको थियो भने सात जना बेपत्ता भएका थिए।
बेपत्ता सातमध्ये दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव हिमपहिरोपछि नै फेला परेको थियो। बाँकी पाँच जनाको भने लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न सकेको थिएन।
लगातार हिमपात भएपछि खोजी कार्य स्थगित गरिएको ‘ड्रिम डेस्टिनेसन’को टोलीले जनाएको छ। हिमपात कम भएपछि स्थानीयले शव देखेको जानकारी दिएसँगै पुनः उद्धार तथा शव सङ्कलनको प्रक्रिया अघि बढाइएको हो।
फेला परेका पाँच शवमध्ये फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो रहेको बताइएको छ।
शव गोंगर ल्याएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचान तथा सम्बन्धित देशका नागरिकको शव व्यवस्थापनका लागि थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया