विपद्मा परेको नेपालका बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि अन्तराष्ट्रिय स्तरबाट सहयोग आउन थालेको छ । विश्व बैंक, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ -आईएफआरसी) लगायतका निकाय र भारत, चीनले सहितका मूलुकबाट सहयोग आउन थालेको हो ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि विश्व बैंकले आपत्कालीन सहयोगस्वरूप रु. २५ अर्बसम्म सहयोग गर्ने घोषणा गरेको छ ।
यसैबीच, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ -आईएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल रु. १८ करोड ९६ लाख २२ हजार -१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।
दक्षिणी छिमेकी भारतले बाढी प्रभावितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ । भारतीय सहयोग सामग्री नेपालमा भित्रिन थालिसकेको छ ।
यस्तै, उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ । सहयोग रकम पठाउने प्रक्रिया चीनले अघि बढाइसकेको छ ।
मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई …विपद् संकटग्रस्त क्षेत्रÚ घोषणा गरेर देश विदेशबाट सहयोग लिएर बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार, राहत र पुनःस्थापनाका काम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया