रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा हालसम्म १६२ जनाको शव फेला परेको छ । रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको हो ।
यस्तै, बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।
यसैबीच, बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ३ हजार ३ सय १८ जना प्रहरी परिचालन गरेको छ । उद्धार तथा बेपत्ताको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया