'बाढी वितण्डा' अपडेट

भोटेकोशी बाढीमा सोलुखुम्बुका २३ जना सम्पर्कविहीन


चीनको सीमावर्ती तिब्बततर्फबाट बुधबार बिहान अचानक आएको भीषण बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा पुगेका सोलुखुम्बुका नागरिक सम्पर्कविहीन भएका छन्। स्थानीय तथा परिवारजनबाट प्राप्त विवरणअनुसार सोलुखुम्बुका २३ जना सम्पर्कविहीन रहेको जानकारी आएको छ।

बुधबार बिहान करिब ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, धुन्चे, मैलुङलगायत क्षेत्रमा सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

बाढीपछि सोलुखुम्बुका विभिन्न स्थानीय तहका नागरिकसँग सम्पर्क हुन नसकेको हो। उनीहरूमध्ये कतिपय काम तथा रोजगारीका सिलसिलामा रसुवा, नुवाकोटलगायतका क्षेत्रमा पुगेका थिए।

विवरणअनुसार सोलुदुधकुण्ड नगरपालिका–८ का धनबहादुर तामाङ, सुरेश मगर र अनिस मगर सम्पर्कविहीन छन्। त्यस्तै सोलुदुधकुण्ड–१० का पासाङ काजी तामाङ, दोर्जी तामाङ, रोजित तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सगर तामाङ र रिन्जी तामाङ पनि सम्पर्कमा नआएको बताइएको छ।

यसैगरी थुलुङ दूधकोशी गाउँपालिका–२ का बाबुराम खत्री, लिखुपिके गाउँपालिका–५ का निमा शेर्पा र अर्जुन भुजेल पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। माप्य दूधकोशी गाउँपालिका–१ का नुरु जाङ्बु शेर्पा, वडा नम्बर २ का तुला बहादुर मगर र हर्क बहादुर मगर, वडा नम्बर ४ का ओमनाथ राई तथा सोताङ गाउँपालिकाका अम्बिर नाछिरिङ पनि सम्पर्कविहीन छन्।

सोलुखुम्बुका सम्पर्कमा नआएका २३ जना

परिवारजन तथा स्थानीय स्रोतबाट प्राप्त नामावलीअनुसार:

१. दिलबहादुर भुजेल (अर्जुन) — लिखुपिके–५
२. ङिमा शेर्पा — लिखुपिके–५
३. दोर्जी शेर्पा — लिखुपिके–१, हाल गोकर्णेश्वर
४. साङ्गे शेर्पा — लिखुपिके–१
५. सोना शेर्पा — सोताङ–४
६. बाबुराम खत्री — थुलुङ दूधकोशी–२, कागेल
७. भुपाल बुर्ज मगर — सोलुदुधकुण्ड–१
८. धनबहादुर तामाङ — सोलुदुधकुण्ड–८
९. सुरेश मगर — सोलुदुधकुण्ड–८
१०. अनिस मगर — सोलुदुधकुण्ड–८
११. पासाङ काजी तामाङ — सोलुदुधकुण्ड–१०
१२. दोर्जी तामाङ — सोलुदुधकुण्ड–१
१३. रोजीत तामाङ — सोलुदुधकुण्ड–१०
१४. पासाङ तामाङ — सोलुदुधकुण्ड–१०
१५. छिरिङ तामाङ — सोलुदुधकुण्ड–१०
१६. सगर तामाङ — सोलुदुधकुण्ड–१०
१७. रिन्जी तामाङ — सोलुदुधकुण्ड–१०
१८. नुरु जाङ्बु शेर्पा — माप्य दूधकोशी–१
१९. तुला बहादुर मगर — माप्य दूधकोशी–२
२०. हर्क बहादुर मगर — माप्य दूधकोशी–२
२१. प्रकाश राना मगर — माप्य दूधकोशी–२
२२. ओमनाथ राई — माप्य दूधकोशी–४
२३. अम्बिर नाछिरिङ — सोताङ

प्रहरीसँग पनि खोजीका लागि समन्वय

सोलुखुम्बुमा जिल्ला प्रहरी कार्यालयमा परिवारजनबाट ७ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। सोलुखुम्बु प्रहरीले प्रहरी प्रधान कार्यालयसँगै रसुवा, धादिङ र नुवाकोट प्रहरीसँग समन्वय गरिरहेको जनाएको छ। तर पछिल्लो विवरण प्राप्त हुँदासम्म सम्पर्कविहीनमध्ये कसैसँग पनि सम्पर्क स्थापित हुन नसकेको प्रहरीको भनाइ छ।

उता भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा संयन्त्र परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ। नेपाली सेनाले विभिन्न उडानमार्फत प्रभावित क्षेत्रबाट ८५ जना तथा निजी हेलिकप्टरमार्फत २९ जनासहित ११४ जनाको हवाई उद्धार गरेको जनाएको छ।

बाढीको क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि बुधबार रातिसम्म विभिन्न जिल्लामा ठूलो संख्यामा मानवीय क्षति भएको सार्वजनिक विवरण आएका छन्। नेपाल प्रहरीका अनुसार १० भदौ रातिसम्म विभिन्न जिल्लामा १५७ जनाको शव फेला परेको विवरण सार्वजनिक भएको थियो।

यसैबीच, सम्पर्कविहीन व्यक्तिका परिवारजनले उनीहरू सकुशल भेटिने आशा व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सम्पर्कविहीन व्यक्तिहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए नजिकैको सुरक्षा निकाय वा सम्बन्धित परिवारजनलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।