वित्तीय सुशासनमा सोलुखुम्बुका पालिका अब्बल

कोशी प्रदेशमै सबैभन्दा कम बेरुजु हुनेमा सोलुदुधकुण्ड पहिलो, माप्य दुधकोशी दोस्रो


सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनअनुसार सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशका १३७ पालिका फेदमा राख्दै वित्तीय अनुशासनमा पहिलो बन्न सफल भएको हो ।

सोलुदुधकुण्डको बेरुजु शून्य प्रतिशत नजिक

महालेखाको प्रतिवेदनअनुसार सोलुदुधकुण्ड नगरपालिकाको कुल १ अर्ब ६९ करोड ६३ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा ४६ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ। यो कुल बजेटको ०.०० प्रतिशत (शून्य प्रतिशत नजिक) मात्र हो । यसले नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली, पारदर्शी खर्च व्यवस्थापन र वित्तीय अनुशासन अत्यन्त प्रभावकारी रहेको पुष्टि गरेको छ।

दोस्रो स्थानमा पनि सोलुखुम्बुकै माप्य दुधकोशी

कोशी प्रदेशमा सबैभन्दा कम बेरुजु हुने दोस्रो पालिका पनि सोलुखुम्बुकै माप्य दुधकोशी गाउँपालिका बनेको छ। प्रतिवेदनअनुसार माप्य दुधकोशीको बेरुजु १२ लाख ८१ हजार रुपैयाँ अर्थात् ०.१३ प्रतिशत मात्र रहेको छ ।
उत्कृष्ट पालिकाको सूचीमा धनकुटा नगरपालिका र भोजपुर नगरपालिका क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् । यी दुवै पालिकाको बेरुजु प्रतिशत ०.१६ मात्र देखिएको छ । यता सोलुखुम्बुकै सोताङ गाउँपालिकाको बेरुजु भने ३.४१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोशी प्रदेशका उत्कृष्ट चार पालिकाहरूको बेरुजु अवस्था:

स्थानस्थानीय तहको नामजिल्लाबेरुजु प्रतिशत
पहिलोसोलुदुधकुण्ड नगरपालिकासोलुखुम्बु०.००% (४६ हजार रुपैयाँ)
दोस्रोमाप्य दुधकोशी गाउँपालिकासोलुखुम्बु०.१३% (१२ लाख ८१ हजार)
तेस्रोधनकुटा नगरपालिकाधनकुटा०.१६%
चौथोभोजपुर नगरपालिकाभोजपुर०.१६%

समग्र प्रदेशको चित्र: २ अर्ब ७८ करोडभन्दा बढी बेरुजु

महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिमा पेश गरेको प्रतिवेदनले प्रदेशका धेरै स्थानीय तहमा आर्थिक अनुशासन कमजोर बन्दै गएको डरलाग्दो चित्र पनि प्रस्तुत गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ को कारोबार परीक्षण अनुसार कोशी प्रदेशका जम्मा १३७ वटा स्थानीय तहमध्ये १२८ वटा पालिकाको मात्र लेखापरीक्षण सम्पन्न भएको छ। ती १२८ वटा पालिकाको कुल १ खर्ब ८७ अर्ब ६१ लाख ७२ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । जसमध्ये २ अर्ब ७८ करोड ८५ लाख ११ हजार रुपैयाँ बेरुजु निस्किएको छ, जुन कुल परीक्षण गरिएको अङ्कको १.४९ प्रतिशत हुन आउँछ ।

किन बढ्दै छ बेरुजु?
महालेखाका अनुसार कानुन, कार्यविधि र मापदण्डको पूर्ण पालना नगरी खर्च गर्ने, सम्झौताविपरीत भुक्तानी गर्ने तथा लिएको पेस्की समयमै फर्स्यौट नगर्ने प्रवृत्ति बढ्दा पालिकाहरूमा बेरुजुको आकार बढ्दै गएको हो ।

समग्र प्रदेशमा बेरुजुको दर र आर्थिक लापरबाही बढ्दो चिन्ताको विषय बनेका बेला सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाले भने सुशासन र वित्तीय अनुशासनको उदाहरणीय नमुना प्रस्तुत गरेर अरू पालिकालाई गतिलो पाठ सिकाएका छन् ।