सांसद पाण्डेलाई प्रधानमन्त्रीको सचिवालयले गरायो सचेत


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेलाई नेपाली सेनाका अधिकारीसँग भएको विवादास्पद घटनापछि प्रधानमन्त्रीको सचिवालयले सचेत गराएको छ।

मंगलबार सांसद पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर सचिवालयका सदस्यहरूले घटनाप्रति ध्यानाकर्षण गराउँदै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउन सचेत गराएका हुन्। सचिवालयले प्रधानमन्त्रीले पनि उक्त घटनाप्रति चासो व्यक्त गरेको जानकारी गराएको बताइएको छ।

घटना सोमबार काठमाडौं क्षेत्र नम्बर–३ अन्तर्गत गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा सडक विस्तारको क्रममा भएको थियो। स्थानीयले लामो समयदेखि साँघुरो सडक फराकिलो बनाउन माग गर्दै आए पनि ट्रस्टको स्वामित्वमा रहेको जग्गाका कारण काम अघि बढ्न सकेको थिएन।

सडक विस्तारका लागि सांसद पाण्डेको नेतृत्वमा डोजर पुगेपछि त्यहाँ खटिएको नेपाली सेनाले काम रोक्न खोजेको थियो। त्यसक्रममा सांसद पाण्डेले सेनाका अधिकारीसँग चर्को स्वरमा विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

घटनापछि सांसद पाण्डेले सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो धारणा राख्दै स्पष्टीकरण दिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयको सुझावपछि उनले आत्मालोचनासहित उक्त विज्ञप्ति जारी गरेका हुन्।

यस घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिको आचरण तथा सरकारी निकायबीचको समन्वयबारे व्यापक चर्चा सुरु भएको छ।