बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नसकिएपछि नेकपा एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार परिवर्तन गर्ने गृहकार्य सुरु भएको छ।
यससँगै संसदीय दलको नेता परिवर्तन गरी किरण थापालाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी तीव्र बनेको स्रोतले जनाएको छ। स्रोतका अनुसार गत शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको छलफलले तत्काल संसदीय दलको नेता नफेर्ने र जगन्नाथ (जेएन) थपलियालाई नै मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको थियो।
तर, आवश्यक बहुमत जुटाउन नसकेको र सरकार गठनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै अध्यक्ष ओलीले सोमबार राति थपलियाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले आजसम्मको समयसीमा दिँदै जसले बहुमत जुटाउन सक्छ, उसैलाई मुख्यमन्त्रीको उम्मेदवार बनाइने स्पष्ट सन्देश दिएको स्रोतको दाबी छ।
यसैबीच, किरण थापालाई संसदीय दलको नेता बनाउने पक्षमा यसअघि नै १९ जना एमाले सांसदले हस्ताक्षर गरिसकेका छन्। ती हस्ताक्षरलाई आधार बनाएर भोलि प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्ने तयारी भइरहेको एक सांसदले बताए। ती सांसदका अनुसार, पार्टीभित्र अब २५ सांसदमध्ये जसले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्छ, उसैलाई नेतृत्व दिने वातावरण बनेको छ। “हिजोसम्म जेएन थपलियाले बहुमत जुटाउनुहुन्छ भन्ने अपेक्षा थियो। तर अवसर गुमाउन नहुने भएकाले नेतृत्वले विकल्प खुला राखेको छ,” उनले भने।
स्रोतका अनुसार किरण थापाप्रति राप्रपाका संसदीय दलका नेता उद्धव थापाको सकारात्मक संकेत रहेको र त्यसले बहुमत जुटाउन सहज हुने विश्वास एमाले नेतृत्वको छ। यद्यपि, जेएन थपलिया पक्षले भने किरण थापाले राप्रपाका केही सांसदसँग समानान्तर छलफल गरेपछि परिस्थिति बदलिएको दाबी गरेको छ।
एमाले र नेकपाबीच भएको सत्ता सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेले पाउने तय भए पनि दुवै दलको सांसद संख्या मात्र बहुमतका लागि पर्याप्त छैन।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेपाली कांग्रेससँग ३६, नेकपासँग २६, एमालेसँग २५, राप्रपासँग १२, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन्।
एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले राप्रपा, हाम्रो नेपाली पार्टी र नेमकिपासँग बहुमतका लागि निरन्तर छलफल भइरहेको बताएका छन्। यसअघि कांग्रेस नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिए पनि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्न नसक्दा बागमती प्रदेशको राजनीतिक समीकरण अझै अनिश्चित बनेको छ।

प्रतिक्रिया