कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनका विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवाद सुल्झाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका शीर्ष नेताहरूबिच काठमाडौँमा निर्णायक छलफल सुरु भएको छ।
मुख्यमन्त्री फेर्ने विषयमा प्रदेश तहमा सहमति जुट्न नसकेपछि पार्टी अध्यक्ष ओलीसँग भेटघाट गरी टुङ्गो लगाउन प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश इन्चार्ज शेरधन राईसहितका पदाधिकारीहरू काठमाडौँ आइपुगेका छन्। सोही सहमति अनुरूप हालका मुख्यमन्त्री हिक्मत कुमार कार्की पनि अध्यक्ष ओलीसँगको भेटका लागि काठमाडौँ पुगेका हुन्।
स्रोेतका अनुसार नयाँ शक्ति समीकरण र फेरिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै एमाले अध्यक्ष ओलीले प्रदेश सरकारको नेतृत्व पनि परिवर्तन हुनुपर्ने अडान राख्दै आएका छन्। नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलहरूसँग भएको तीन बुँदे सहमति अनुसार कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार सञ्चालन हुने भए पनि अध्यक्ष ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका छन्।
तथापि, संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री बनेका हिक्मत कुमार कार्कीले पार्टीको औपचारिक तथा संस्थागत निर्णय बिना मौखिक निर्देशनका भरमा राजीनामा नदिने अडान राखेपछि कोशीमा सरकार पुनर्गठन प्रक्रिया अन्योलमा परेको थियो।
अध्यक्ष ओलीसँगको भेटघाट र छलफलपछि मुख्यमन्त्री कार्कीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने वा पार्टीको संस्थागत निर्णय पर्खिने भन्नेबारे अन्तिम टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया