सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा गोली लागेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यसअघि साउन १० गते कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।
यस्तै, घटनापछि उत्पन्न तनावका क्रममा सिरहाको गोलबजारमा भएको झडपमा गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो।
रवीन्द्र मेहताको निधनसँगै सुनसरीका तीन र सिरहाका एक गरी उक्त घटनासँग सम्बन्धित मृत्यु हुनेको संख्या चार पुगेको छ। घटनाबारे सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया