पाकिस्तानको ब्रोड पिक हिमालमा जारी शव सङ्कलन तथा उद्धार अभियानलाई थप प्रभावकारी, सुरक्षित र द्रुत बनाउने विषयमा प्रतिनिधिसभा सदस्य एवं वरिष्ठ आरोही मिङ्मा डेभिड शेर्पा र अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्षबीच छलफल भएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै सांसद शेर्पाले ब्रोड पिकमा जारी खोज तथा उद्धार कार्यलाई थप व्यवस्थित र सफल बनाउन अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्षसँग रचनात्मक बैठक भएको जनाएका छन्। छलफलमा अध्यक्षले मिसनलाई सुरक्षित र सफल रूपमा सम्पन्न गर्न आफ्नो तर्फबाट सम्पूर्ण प्रयास गरिरहेको प्रतिबद्धता जनाएका छन्।
अत्यन्तै जटिल भौगोलिक बनावट, प्रतिकूल र अप्रत्याशित मौसम तथा प्राविधिक कठिनाइका बीच जारी उद्धार अभियानलाई थप सुदृढ बनाउन सरोकारवाला निकाय, उद्धार टोली, प्राविधिक स्रोत-साधन र उपलब्ध जनशक्तिबीच उच्चस्तरीय समन्वय कायम गर्ने सहमति भएको छ।
सांसद शेर्पाका अनुसार उद्धारमा खटिएका टोलीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ। साथै, हिमालमा बाँकी रहेका मृतकका पार्थिव शरीरलाई जतिसक्दो चाँडो र सम्मानजनक रूपमा ल्याउनका लागि आवश्यक सबै कदम चालिने जनाइएको छ।
उनले यो कठिन मिसनमा निरन्तर सहयोग र समन्वय पुर्याएकोमा पाकिस्तान सरकार, ब्रिटिस दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान, पाकिस्तानस्थित नेपाली दूतावास र उद्धार अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षप्रति आभार व्यक्त गरेका छन्।
“हाम्रो प्राथमिकता प्रस्ट छ: हाम्रा साथीहरूलाई सुरक्षित र सम्मानजनक रूपमा घर फर्काउनु हो,” सांसद शेर्पाले भनेका छन्।

प्रतिक्रिया