विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला आठ वटा हिमालको देश नेपाललाई संसारले साहस, पर्यटन र हिमालको देशका रूपमा चिन्छ।
यही हिमालले हजारौं विदेशीलाई नेपाल तान्छ, हजारौं नेपालीलाई रोजगारी दिन्छ र धेरैलाई अन्तर्राष्ट्रिय ख्याति दिलाउँछ । तर यही हिमालले हरेक वर्ष केही सपना पनि चिहान बनाइदिन्छ।हिमालको सफल आरोहणपछि विमानस्थलमा फूलमाला, बधाई र सम्मानको वर्षा हुन्छ। आरोहीलाई कीर्तिमानी, राष्ट्रिय गौरव र प्रेरणाको प्रतीक मानिन्छ। तर कहिलेकाहीँ त्यही आरोहीको प्रतीक्षा विमानस्थलमा होइन, परिवार र घरमा हुन्छ—जहाँ उनी कहिल्यै फर्केर आउँदैनन्।
त्यसैले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा होइन, भाग्यले बाँच्ने यात्रा पनि हो।
शुक्रबार पाकिस्तानको काराकोरम क्षेत्रमा हिमपहिरोमा परेर विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल “निम्स” पुर्जा (निम्स दाई) नेतृत्वको टोलीसँग सम्पर्क विच्छेद भएको घटनाले हिमाल आरोहीहरु मात्रै होइन विश्व नै यतिबेला दुखित छ । हराएकाहरुको खोजी र उद्दार उपचारको आव्हान विश्वले गरिरहेको छ । विश्वका सबैभन्दा अनुभवी आरोहीसमेत प्रकृतिको अगाडि निरीह हुन्छन् ।
यस घटनाले फेरि सम्झाएको छ कि हिमालले न कीर्तिमान चिन्छ, न अनुभव। उसले आफ्नो नियम मात्र मान्छ।
हिमाल जितिन्छ र रेकर्ड तोडिन्छ भन्ने भ्रम
हामी प्रायः “हिमाल जिते”, “सगरमाथा विजय गरे”, “चुचुरो चढे गरे” भन्ने शब्द प्रयोग गर्छौं । एकपछि अर्को रेकर्ड राख्न चाहान्छौं । कहिले त अरुका मात्रै होइन आफ्नै रेकर्डहरुको क्रमभंगता गर्दै अर्को रेकर्ड थप्ने महत्वाकांक्षी लक्ष्यका पछि दौडिन पुग्छौं । तर वास्तविकता फरक छ। कुनै पनि आरोहीले हिमाललाई जित्दैन। हिमालले केही घण्टाका लागि आफ्नो शिखरमा पाइला टेक्ने अनुमति मात्र दिन्छ।
यदि मौसमले साथ दियो भने आरोही सफल हुन्छ। यदि केही मिनेट ढिलो भयो भने त्यही सफलता मृत्युमा बदलिन सक्छ। सिकारु र केही प्रकोपमा परेर दुर्घटनामा पर्छन् । हिमालमा बिलाएका अनुभवी धेरै आरोही रेकर्ड थप्ने होडमा बित्छन् । कहिले एक्लै हिमाल चड्ने, कहिले अक्सिजन बीना चड्ने, जोखिमपूर्ण क्षेत्रबाट चड्ने जस्ता योजना बनाउँदा पनि समस्याहरु निम्तिएका छन् । त्यसैले हिमाललाई कहिल्यै चुनौती दिनु हुँदैन, सम्मान गर्नुपर्छ।
तयारी बिना हिमालको यात्रा आत्मघाती
हिमाल आरोहण केवल शारीरिक शक्ति वा साहसको विषय होइन। यो विज्ञान, योजना, अनुशासन र धैर्यको संयोजन हो।आरोहणअघि पर्वतारोही पूर्ण रूपमा शारीरिक रूपमा फिट हुनुपर्छ। कम अक्सिजन भएको क्षेत्रमा लामो समय काम गर्न सक्ने क्षमता विकास गर्नुपर्छ। मानसिक रूपमा पनि अत्यन्त बलियो हुनुपर्छ, किनभने ८ हजार मिटरभन्दा माथिको क्षेत्रलाई “डेथ जोन” भनिन्छ। त्यहाँ प्रत्येक सास जीवनसँगको सम्झौता जस्तै हुन्छ।
उचाइअनुसारको मौसमको विस्तृत अध्ययन नगरी हिमाल चढ्नु ठूलो जोखिम हो। हावाको गति, हिमपात, तापक्रम, हिमपहिरोको सम्भावना र मार्गको अवस्थाबारे जानकारी अनिवार्य हुन्छ।
त्यसैगरी आवश्यकताभन्दा बढी खाद्यान्न, इन्धन, न्यानो कपडा, औषधि, अक्सिजन सिलिन्डर र आकस्मिक उद्धार सामग्री साथमा हुनुपर्छ। सञ्चारका लागि वाकीटकी, सेटेलाइट फोन र जीपीएस आजको हिमाल आरोहणका आधारभूत उपकरण बनिसकेका छन्। तर यति धेरै तयारीपछि पनि दुर्घटना किन हुन्छ ?
अनुभवले मात्र ज्यान जोगाउँदैन
धेरैले सोच्छन्, एक पटक सफल भएका आरोही फेरि सजिलै सफल हुन्छन्। तर हिमालमा अघिल्लो अनुभवले भविष्यको सफलता सुनिश्चित गर्दैन।
एउटै हिमाल हरेक वर्ष फरक हुन्छ। हिउँको बनावट बदलिन्छ। नयाँ हिमपहिरोको जोखिम सिर्जना हुन्छ। हावाको दिशा परिवर्तन हुन्छ। चट्टान खुल्न सक्छ। हिउँमुनि लुकेका खाल्डा (क्रेभास) को स्वरूप बदलिन्छ। सबैभन्दा ठूलो कुरा, मानव शरीरको प्रतिक्रिया पनि हरेक आरोहणमा उस्तै हुँदैन। अघिल्लो पटक सामान्य रहेको शरीर यसपटक उचाइमा अचानक कमजोर बन्न सक्छ।
यही कारणले विश्वका धेरै कीर्तिमानी आरोहीहरूले पनि आफ्नो अन्तिम यात्रा हिमालमै समाप्त गरेका उदाहरण छन्।
प्रकृतिको निर्णय
पाकिस्तानको काराकोरम क्षेत्रमा आएको हिमपहिरोले विश्वभरका पर्वतारोहण समुदायलाई चिन्तित बनाएको छ। अत्यन्त अनुभवी नेपाली पर्वतारोही निर्मल “निम्स” पुर्जाको टोलीसँग जोडिएको यो घटनाले एउटा गम्भीर सन्देश दिएको छ—हिमालमा अनुभवभन्दा पनि प्रकृतिको निर्णय अन्तिम हुन्छ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल अत्यन्त छोटो समयमा आरोहण गरेर इतिहास बनाएका निम्स पुर्जा पर्वतारोहणका सबैभन्दा दक्ष व्यक्तिमध्ये एक मानिन्छन्। आधुनिक प्रविधि, उत्कृष्ट शारीरिक क्षमता, अनुभवी टोली र योजनाबद्ध तयारी हुँदाहुँदै पनि हिमपहिरो जस्तो प्राकृतिक विपत्तिले सबै हिसाब एकै क्षणमा बदलिदिन सक्छ। यही कारणले पर्वतारोहणमा ‘शून्य जोखिम‘ भन्ने शब्द अस्तित्वमै छैन।
मृत्युका प्रमुख कारण
हिमालमा अधिकांश दुर्घटना एउटै कारणले हुँदैनन्। धेरै कारण एकैपटक जोडिन्छन्।
हिमपहिरो सबैभन्दा ठूलो खतरा हो। हजारौं टन हिउँ केही सेकेन्डमै तल झर्छ। भाग्ने अवसर नै हुँदैन। हिमआँधीले केही मिनेटमै दृश्यता शून्य बनाइदिन्छ। दिशा हराउँछ। उचाइजन्य बिरामी (Altitude Sickness) ले मस्तिष्क र फोक्सोमा असर पुर्याउँछ। समयमा उपचार नपाए केही घण्टामै मृत्यु हुन सक्छ।
अक्सिजनको कमीले शरीरको निर्णय क्षमता कमजोर बनाउँछ। सामान्य गल्ती पनि घातक हुन्छ।क्रेभासमा खस्ने जोखिम, डोरी चुँडिने, अत्यधिक थकान, निर्जलीकरण, फ्रस्टबाइट र मौसमको अचानक परिवर्तनले पनि दुर्घटना निम्त्याउँछन्।
कतिपय अवस्थामा निर्धारित समयभित्र चुचुरो नछाड्नु पनि मृत्युको कारण बन्छ। कहिले फर्किने निर्णय सबैभन्दा ठूलो सफलता हुन्छ ।
पर्वतारोहणमा एउटा प्रसिद्ध भनाइ छ—”Summit is optional, return is mandatory.” अर्थात् चुचुरोमा पुग्नु वैकल्पिक हो, तर सुरक्षित फर्किनु अनिवार्य हो। दुर्भाग्यवश धेरै दुर्घटनाहरू चुचुरोबाट फर्किने क्रममा हुन्छन्। कारण त्यतिबेलासम्म शरीर थाकिसकेको हुन्छ। अक्सिजन घटिसकेको हुन्छ। मौसम बिग्रन थालिसकेको हुन्छ। निर्णय क्षमता कमजोर हुन्छ।
त्यसैले अनुभवी गाइडहरूले मौसम अनुकूल नभए, अक्सिजन घटे वा शरीरले साथ नदिए चुचुरोभन्दा केही सय मिटर तलबाटै फर्किने निर्णय गर्छन्।
त्यो असफलता होइन, अर्को सफल आरोहणका लागि जीवन जोगाउने निर्णय हो। हिमाल अवसरै अवसरको चुचुरो जोखिमका बाबजुद हिमाल नेपालको ठूलो आर्थिक स्रोत हो।हजारौं शेर्पा, गाइड, भरिया, हेलिकोप्टर कम्पनी, होटल व्यवसायी, ट्रेकिङ एजेन्सी र स्थानीय समुदायको जीविकोपार्जन हिमालसँग जोडिएको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने सबैभन्दा ठूलो पहिचान पनि हिमाल नै हो। पर्यटन आम्दानी, विदेशी मुद्रा र स्थानीय विकासमा यसको योगदान महत्वपूर्ण छ।
त्यसैले हिमाल अवसर पनि हो, जिम्मेवारी पनि हो । सुरक्षा संस्कृति अझै सुदृढ बनाउनुपर्नेनेपालले विश्वलाई उत्कृष्ट पर्वतारोही दिएको छ। तर अब हाम्रो प्राथमिकता केवल धेरै आरोही पठाउनु होइन, सुरक्षित आरोहणको संस्कृति विकास गर्नु पनि हो।
उच्चस्तरीय मौसम पूर्वानुमान, उद्धार प्रणाली, आधुनिक सञ्चार उपकरण, गाइडको नियमित तालिम, स्वास्थ्य परीक्षण, अक्सिजन व्यवस्थापन र जोखिम मूल्याङ्कनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।
कीर्तिमान बनाउने प्रतिस्पर्धाभन्दा सुरक्षित फर्किने संस्कृतिलाई प्राथमिकता दिन सके मात्र हिमालले दिने अवसरलाई दीगो बनाउन सकिन्छ। हिमालले मानिसलाई साहस सिकाउँछ, अनुशासन सिकाउँछ र आफ्नो सीमा चिन्न सिकाउँछ। प्रकृतिभन्दा ठूलो कोही छैन भन्ने कठोर सत्य पनि सिकाउँछ । हिमालबाट सुरक्षित फर्किनेहरू इतिहास रच्छन्। उनीहरूको सफलताको उत्सव मनाइन्छ। तर त्यही बाटोमा हराउनेहरूको कथा पनि कम प्रेरणादायी हुँदैन। उनीहरूले आफ्नो जीवनको मूल्यमा हामीलाई एउटा सन्देश छाडेर जान्छन्—साहस आवश्यक छ, तर विवेक त्यसभन्दा पनि आवश्यक छ।
आज पाकिस्तानको हिमपहिरोमा हराइरहेका नेपाली आरोहीहरूको खोजीले संसारको ध्यान तानेको छ। त्यो घटना केवल एउटा समाचार होइन, सम्पूर्ण पर्वतारोहण समुदायका लागि चेतावनी पनि हो। हिमालको चुचुरो छुनु महान् उपलब्धि हो। तर सबैभन्दा ठूलो उपलब्धि भनेको सुरक्षित रूपमा आफ्ना परिवारका माझ फर्किनु हो। किनकि हिमालमा अन्तिम निर्णय आरोहीले होइन, प्रकृतिले गर्छ।
त्यसैले हिमाल आरोहण वास्तवमा कीर्तिमान बनाउने यात्रा मात्र होइन, भाग्यले बाँच्ने यात्रा हो।
(लेखक नर्विन मगर नेपालका युवा सगरमाथा आरोही हुन् । उनि अहिले आरोहणसँगै पर्यटन पेशामा आबद्ध छन्।)

प्रतिक्रिया