२२ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए।
प्रहरीका अनुसार हवाई मार्गबाट लागुऔषध ओसारपसार हुन सक्ने आशंकामा शंकास्पद व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेका हुन्। गत २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनी यसअघि लाओसबाट दुई पटक नेपाल आइसकेका छन्। पहिलो पटक हवाईमार्ग र दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको खुलेको एसपी रेग्मीले बताए।
उनले लाओससहित जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियाको समेत भ्रमण गरेको पाइएको छ। प्रहरीका अनुसार उनी लागुऔषध कारोबारको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक हुन्।
उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीबाट बरामद साढे पाँच किलो सेतो हेरोइनको बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
प्रहरी अधिकारीका अनुसार बरामद हेरोइन भारत लैजाने योजना रहेको थियो।

प्रतिक्रिया