बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता पाउन स्वघोषणा गर्नुपर्ने


विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता प्राप्त गर्न स्वघोषणा गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ।

सरकारले नेपाल नागरिकता नियमावली, २०६३ को पाँचौँ संशोधनमार्फत यस्तो नागरिकता प्राप्तिका लागि आवश्यक स्वघोषणाको ढाँचा सार्वजनिक गरेको हो।

संशोधित नियमावलीअनुसार नेपालको नागरिक आमाबाट विदेशमा जन्मिएका, नेपालमा स्थायी बसोबास गरेका, विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएका व्यक्तिले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन्।

यसका लागि सम्बन्धित व्यक्ति र उनकी आमाले छुट्टाछुट्टै स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ। दुवैले सन्तानको जन्म, नेपालमा स्थायी बसोबास, विदेशी नागरिकता वा राहदानी नलिएको तथा बाबुको पहिचान नभएको व्यहोरा खुलाउनुपर्नेछ।

स्वघोषणा गर्ने व्यक्तिले आफ्नो नाम, थर, जन्ममिति, दस्तखत र मिति उल्लेख गरी दायाँ तथा बायाँ औँठाछापसमेत लगाउनुपर्नेछ। त्यस्तै, आमाले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, जारी जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बर खुलाउनुपर्ने व्यवस्था छ।

स्वघोषणामा उल्लेख गरिएका विवरण सत्य भएको र झुटो ठहरे कानुनबमोजिम जिम्मेवार हुने प्रतिबद्धतासमेत जनाउनुपर्नेछ।

यसअघि नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) मा यस्तो व्यवस्था भए पनि नागरिकता प्राप्तिका लागि आवश्यक स्वघोषणाको औपचारिक ढाँचा स्पष्ट थिएन।

नियमावलीको पाँचौँ संशोधनले अनुसूची ७ग मा स्वघोषणाको ढाँचा समावेश गरेसँगै उक्त कानुनी व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रक्रिया थप स्पष्ट भएको छ।