कोप–३१ मा सहभागी हुन पाँच सांसद् टर्की जाँदै


संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच सांसद् टर्की जाने भएका छन्।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच सांसद् सम्मेलनमा सहभागी हुन लागेका हुन्।

टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षतिपूर्ति र स्वच्छ ऊर्जा संक्रमणलगायतका विषयमा छलफल भइरहेको छ।

सम्मेलनमा नेपालले हिमाल तथा हिमनदी संरक्षण, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ उठाइरहेको छ।

सभापति चौधरीले सम्मेलनमा जलवायु परिवर्तनका चुनौती, संसदीय सहकार्य, क्षेत्रीय साझेदारी र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने विषयमा सहभागिता जनाउनेछन्।

सभामुखस्तरीय निर्णयअनुसार सम्मेलनमा सहभागी हुने सांसद्हरूमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी रहेका छन्।

सभापति चौधरीका अनुसार संघीय संसद् सचिवालयलाई कुनै आर्थिक भार नपर्ने गरी उनीहरू टर्की जान लागेका हुन्।