कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमै सर्वाधिक रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार काठमान्डु गोर्खाजविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।
यो एनपीएल इतिहासकै अहिलेसम्मको उच्च स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।
पोखराका लागि कुशल भुर्तेल शतक बनाउन एक रनले चुके । उनले ५१ बलमा ८ चौका र ८ छक्कासहित सर्वाधिक ९९ रन बनाए । त्यस्तै, ओपनर युवराज सिंह सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन जोडे ।
यी दुई ब्याटरले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे । यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।
पोखरा एकै सिजनमा दुई पटक २०० भन्दा बढी रन बनाउने पहिलो टोलीसमेत बनेको छ । यसअघि उसले कर्णाली याक्सविरुद्ध २१७ रन बनाएको थियो ।
कप्तान चमिका करुणारत्नेले ७ बलमा १९ रन बनाउँदै अविजित रहे भने धनन्जय लक्षण २ रनमा नटआउट रहे । काठमान्डुका कप्तान करण केसीले २ तथा जहानदाद खानले १ विकेट लिए ।
करणले इनिङ्सको १९औँ ओभरमा कुशल भुर्तेल र युवराज सम्रा दुवैलाई आउट गरेका थिए ।

प्रतिक्रिया