राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्रीहरूको विदेश भ्रमणलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेको छ। पार्टीका सांसदहरूले नै विदेश भ्रमणको औचित्य, खर्चको स्रोत र राजनीतिक नैतिकतामाथि प्रश्न उठाएका हुन्।
रास्वपाका सांसद गणेश कार्की, ज्वाला संग्रौला, आशिका तामाङ र राजु पाण्डेले सामाजिक सञ्जालमार्फत विदेश भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा सहभागी हुन टर्किए पुगेका तथा पुगिरहेका नेपाली प्रतिनिधिमण्डलको खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन्। उनले सम्मेलनमा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा अन्य स्रोतबाट खर्च व्यवस्थापन भएको हो भन्ने स्पष्ट पार्नुपर्ने बताएका छन्।
त्यस्तै, सांसद ज्वाला संग्रौलाले सामूहिक रूपमा विदेश भ्रमण गर्नु देश र जनताको हितविपरीत भएको टिप्पणी गरेकी छन्। हिजो अन्य दलका नेताहरूले गर्दा गलत मानिएको अभ्यास आफ्नै पार्टीका नेताहरूले गर्दा सही हुन नसक्ने उनको भनाइ छ।
सम्बन्धित मुलुकले नै खर्च बेहोर्ने गरी निमन्त्रणा गरेको अवस्थामा भ्रमणलाई अन्यथा मान्न नसकिने भए पनि राज्यको ढुकुटी खर्च गरेर विदेश भ्रमण गर्नु गलत हुने उनले बताएकी छन्।
अर्की सांसद आशिका तामाङले पनि राज्यको ढुकुटीबाट सांसदहरूले कति पटक विदेश भ्रमण गर्न पाउने भन्दै प्रश्न उठाएकी छन्। संसदीय समितिको नाममा हुने विदेश भ्रमणको उद्देश्य र उपलब्धिबारे सांसदहरूलाई समेत पर्याप्त जानकारी नहुने गरेको उनको गुनासो छ।
राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने भ्रमणको उपलब्धिबारे जनताले जान्न पाउनुपर्ने उनको भनाइ छ। भ्रमणको उपलब्धि समुद्री किनारमा फोटो खिच्ने र टिकटक बनाउनेमा मात्रै सीमित भएको हो कि भन्ने आशयसमेत उनले व्यक्त गरेकी छन्।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह निकट सांसद राजु पाण्डेले पनि जिम्मेवारी र पदमा पुगेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने राजनीतिक प्रवृत्तिप्रति व्यंग्य गरेका छन्।
यसैबीच, रास्वपाका २० जना नेता तथा सांसदको टोली आज चीन भ्रमणमा जाँदैछ। त्यस्तै, कोप–३१ मा सहभागी हुन नेपालबाट पाँच मन्त्री टर्की पुगेका छन्। यी भ्रमणको औचित्य र खर्चको स्रोतलाई लिएर पार्टीभित्रै बहस सुरु भएको छ।

प्रतिक्रिया