वर्षाले बीपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी


वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्गसहित विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएका छन्। शुक्रबार र शनिबारको वर्षाले सडकमा लेदो थुप्रिनुका साथै पहिरो खसेपछि यातायात प्रभावित भएको हो।

काभ्रेको रोशीस्थित गिम्दीबेँसीमा आज बिहानदेखि डोजर लगाएर पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। बीपी राजमार्गमा हिजो बिहानैदेखि सवारी आवागमन अवरुद्ध छ।

यसैगरी, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड पनि पहिरो तथा वर्षाका कारण अवरुद्ध भएका छन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।

ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढ्दा करिडोर सडकमा आवागमन रोकिएको छ। त्यस्तै, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेमा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।