नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर लागू


नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई तोकिएको शुल्क अनिवार्य गरिएको हो।

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित दरअनुसार शुल्क तिर्नुपर्नेछ।

निर्धारित दरअनुसार कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

सुरुवाती चरणमा नगद तथा क्यूआरमार्फत शुल्क भुक्तानी गर्न सकिनेछ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा शुल्क संकलन गर्ने तयारी भइरहेको आयोजना प्रमुख नेपालले बताए।

सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ। संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ। दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्।