स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत साउनदेखि असोजसम्म तीन हजार १८ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ती सवारीसाधनबाट कुल २८ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएको हो।
कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार सबैभन्दा बढी जीप, कार तथा भ्यान कारबाहीमा परेका छन्। तीन महिनामा यस्ता ९१७ वटा सवारीसाधन कारबाहीमा पर्दा नौ लाख ६८ हजार रुपैयाँ राजस्व उठेको छ।
त्यस्तै, ९०९ वटा मोटरसाइकल तथा स्कुटरबाट आठ लाख ४९ हजार पाँच सय रुपैयाँ, ३८२ वटा बसबाट तीन लाख १३ हजार पाँच सय रुपैयाँ र ३३५ वटा ट्रकबाट दुई लाख ९५ हजार रुपैयाँ संकलन भएको छ।
यसैगरी, २५८ वटा अन्य सवारीसाधनबाट दुई लाख छ हजार र २१७ वटा ट्र्याक्टरबाट एक लाख ७२ हजार रुपैयाँ राजस्व उठेको शाहीले जानकारी दिए।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाहीसँगै दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको उनले बताए। चालकलाई सवारीको गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको प्रयोग र सडक अनुशासनमा ध्यान दिन आग्रह गरिएको उनको भनाइ छ।
यसैबीच, स्याङ्जामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर र २१ जना सामान्य घाइते भएका छन्।
दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न चालक, यात्रु तथा अन्य सडक प्रयोगकर्ता सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा ट्राफिक प्रहरी प्रमुख शाहीले जोड दिएका छन्।

प्रतिक्रिया