अर्नब चक्रवातको प्रभावले मुस्ताङमा भारी हिमपात र निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण उपल्लो मुस्ताङको कोरला नाका ठप्प भएको छ भने पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ।
शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिएका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा भने निरन्तर वर्षा भइरहेको छ।
नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको न्हेचुङस्थित बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ।
हिमपातका कारण जोखिम बढेपछि कोरला नाकातर्फको सडकमा सवारीसाधन र पर्यटकको आवागमन रोकिएको छ। न्हेचुङबाट कोरला जाने तथा जोमसोम झर्ने कन्टेनर र विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले बताए।
मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न पनि प्रशासनले अनुरोध गरेको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङका अनुसार कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो। हिमपातले उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र ढाकिएका छन्। चिसो बढेसँगै स्थानीयको जनजीवन प्रभावित भएको छ।
यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको छ। घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए।
भारी हिमपात र वर्षालाई मध्यनजर गर्दै प्रशासनले मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया