वर्षाले एनपीएलका दुवै खेल अन्योलमा


काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। वर्षाका कारण दिउँसो हुने पहिलो खेल रद्द हुन सक्ने देखिएको छ भने दोस्रो खेल पनि अन्योलमा परेको छ।

शनिबार दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। तर मौसमविद्ले दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो १ देखि २ बजेसम्म काठमाडौंसहित धेरै स्थानमा वर्षा हुने र त्यसपछि क्रमशः कम हुँदै जाने सम्भावना छ।

वर्षा रोकिए पनि मैदान खेल्नयोग्य बनाउन पर्याप्त समय नहुने देखिन्छ। लामो समयको वर्षाले आउटफिल्डमा पानी जम्नुका साथै जमिन हिलाम्मे हुन सक्छ। पिचलाई कभरले जोगाइएको भए पनि मैदान तयार पार्न थप समय लाग्नेछ।

भिजेको मैदानमा बलरलाई दौडिएर बलिङ गर्न तथा फिल्डरलाई दौडिन र दिशा परिवर्तन गर्न कठिन हुने भएकाले खेलाडीको सुरक्षामा समेत जोखिम हुन सक्छ।

दोस्रो खेल साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुने तालिका छ। पहिलो खेलमा कम्तीमा पाँच ओभरको खेल गराउन दिउँसो करिब ३ः४० देखि ३ः५५ बजेसम्मको समयसीमा रहने देखिन्छ। मैदान तयार पार्न दुईदेखि तीन घण्टा लाग्न सक्ने भएकाले वर्षा दिउँसो १ बजेसम्म पनि नरोकिए पहिलो खेल हुने सम्भावना निकै कम हुनेछ।

दोस्रो खेल हुने वा नहुने भन्ने विषय पनि वर्षा रोकिने समय र मैदानको अवस्थामै निर्भर रहनेछ।

एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसैले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ।