विराटनगरमा कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक


वरगाछी बहुउद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा आयोजित एक भव्य समारोहबीच कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक गरिएको छ।

छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल तथा विशिष्ट अतिथिहरू गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, साहित्यकार हरि कट्टेल र लेखककी पत्नीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्। कार्यक्रममा समीक्षक बाबुराम पोखरेलले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै खण्डकाव्यले प्रेम र राष्ट्रवादलाई केन्द्रमा राखेर लेखिएको बताए।

समालोचक प्राध्यापक कविराज पोखरेलले काव्य कथाले नेपाली समाजको यथार्थ चित्रण गरेको धारणा राखे भने प्राज्ञ खेम नेपालीले सुकुम्बासी पात्रको पीडालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गरे।

त्यस्तै, समालोचक हरि कट्टेलले कृति आकारमा लघु भए पनि आख्यान प्रस्तुतीका हिसाबले पूर्ण खण्डकाव्यको रूप लिएको बताए। उनले यसलाई सामाजिक विषयवस्तुमा आधारित स्वैरकाल्पनिक काव्य भन्दै छन्दमा लेखिएको उक्त कृतिले आफूलाई निकै प्रभावित बनाएको उल्लेख गरे।

समारोहमा बलराम पोखरेल, गङ्गा सुवेदी तथा केशु विरहीले सर्जकलाई कृतिगत सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सुनसरी र मोरङ जिल्लाका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

‘भोगाइ’ कवि लोचन रिजालको छैटौं कृति हो भने यस काव्यलाई छन्दवाटिका नेपालले प्रकाशनमा ल्याएको हो।