७१औँ प्रहरी दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित देखिएका छन्। उनले समारोहमा सहभागी नभई शुभकामना सन्देश पठाएका थिए, जसलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वाचन गरेर सुनाएका थिए।
सन्देशमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
जनताको सेवामा सधैँ अग्रभागमा खटिने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको पनि जानकारी दिएका छन्।
कर्तव्य पालनाका क्रममा हालै भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद् तथा विभिन्न कालखण्डमा ज्यान गुमाएका प्रहरीप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।
पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराधको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको पनि प्रधानमन्त्रीले बताएका छन्। यसका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था भइरहेको उनको भनाइ छ।
त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट’ तथा ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापना गर्ने तयारी भइरहेको पनि उनले सन्देशमा उल्लेख गरेका छन्।
‘नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ। राष्ट्रसेवकको असली परीक्षा सङ्कटका बेला हुन्छ। सङ्कटको घडीमा हाम्रो धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै सङ्कट टार्न मद्दत गर्दछ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।
प्रधानमन्त्री शाहले सम्भावित विपद् व्यवस्थापनदेखि वित्तीय तथा साइबर अपराध नियन्त्रणसम्म प्रहरीको क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको सन्देश दिएका छन्। तर, प्रहरी दिवसको विशेष समारोहमा उनको अनुपस्थितिले ध्यान खिचेको छ।

प्रतिक्रिया