पोखरामा युवतीको ज्यान लिने योजना पहिल्यै बनेको खुलासा

आफ्नै भाञ्जा नाता पर्ने पक्राउ


पोखरा महानगरपालिका–८ सभागृहचोकमा बुधबार भएको एक महिलाको हत्या प्रकरणमा पारिवारिक सम्पत्ति विवाद मुख्य कारणका रूपमा देखिएको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हत्या आकस्मिक नभई योजनाबद्ध रूपमा गरिएको संकेत देखिएको हो।

मारिने सिर्जना पौडेल केसी माथि आफ्नै भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियारले आक्रमण गरेका थिए। घटनापछि फरार रहेका उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गर्दै अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्की ले जनाएको छ।

प्रहरीका अनुसार सिर्जनाले अदालतबाट पतिको अंश आफ्नो नाममा पाइसकेपछि त्यसलाई फिर्ता गराउने प्रयास पतितर्फका आफन्तले गर्दै आएका थिए। यही विषयले परिवारभित्र तनाव बढ्दै जाँदा अन्ततः हत्या जस्तो गम्भीर घटनामा परिणत भएको प्रारम्भिक निष्कर्ष छ।

घटनामा संलग्न मुख्य आरोपी शिशिर केसी विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ। उनीविरुद्ध यसअघि अभद्र व्यवहारदेखि चोरी तथा डाँकासम्मका मुद्दा दर्ता भइसकेका थिए। उनका सहयोगी कुशल परियारसमेत लागुऔषध सम्बन्धी मुद्दामा कारबाही भोगिसकेका व्यक्ति हुन्।

प्रहरीले घटनामा प्रयोग भएको स्कुटर र धारिलो हतियार समेत बरामद गरिसकेको छ। अनुसन्धानका क्रममा हत्या योजनाबद्ध ढंगले गरिएको देखिएको र यसमा सम्पत्ति विवादले मुख्य भूमिका खेलेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका दुवैजनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिनेछ, जसअनुसार दोषी ठहरिए जन्मकैदसम्मको सजाय हुनसक्ने व्यवस्था छ।

यो घटनाले पारिवारिक विवाद, विशेषगरी सम्पत्ति सम्बन्धी किचलो, कति घातक बन्न सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ।