पश्चिम एसियामा चलिरहेको युद्ध नरोकिँदा त्यहाँ मृत्यु भएका नेपालीको शव ल्याउन कठिनाइ भएको छ ।
युद्धका कारण नियमित उडान हुन नसक्दा वैदेशिक रोजगारीका क्रममा पश्चिम एसियाली राष्ट्रमा मृत्यु भएका नेपालीको शव ल्याउन कठिनाइ भएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेल युद्धका कारण पश्चिम एसियाली राष्ट्रबाट काठमाडौंसम्म नियमित उडान नहुँदा शव ल्याउन ढिलाइ भएको जानकारी दिए ।
उनले भने, “जति उडान भएका छन्, तिनमा नेपालीको शव ल्याउन मन्त्रालय र हाम्रा दूतावासले पहल गरिरहेका छन् ।”
४० भन्दा बढी शव रोकिए
पश्चिम एसियाली राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, इजरायल, साइप्रसमा हाल ४० जनाभन्दा बढी नेपालीको शव रोकिएको छ ।
शव ल्याउने प्रक्रिया पूरा भएका छन्, तर हवाई उडान हुन नसक्दा नेपाल ल्याउन ढिलाइ भइरहेको उनले जनाए ।
अमेरिका र इजरायलले गत फागुन १६ गते अचानक इरानमाथि आक्रमण गरेका थिए । त्यसपछि इरानले पनि इजरायलमा प्रतिआक्रमण सुरु गरेको थियो ।
इरानले इजरायलमा मात्र होइन, पश्चिम एसियाली राष्ट्र यूएई, साउदी अरेबिया, कुवेत, कतार, ओमान, बहराइन, इराक, जोर्डनलगायतका देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण गर्दै आएको छ ।
पश्चिम एसियामा जारी युद्ध रोकिने कुनै संकेत देखिएको छैन । युद्धका कारण कुवेत र बहराइनको आकाश पूर्ण बन्द छ । यूएई र साउदीबाट फाट्टफुट्ट उडान भइरहेका छन् ।

प्रतिक्रिया