जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ । भिमफेदी कारागारको जेलर रहेका पौडेलको सक्रियता, समन्वय क्षमता र साहसिक नेतृत्वका कारण कारागार सुरक्षा मजवुत बनेको र क्षतिको जोखिम टरेकाले कुशल जिम्मेवारी निर्वाह गरेका उपसचिव पौडेललाई पुरस्कृत गर्न आयोगले प्रतिवेदन मार्फत सरकारलाई सुझाव दिएको हो ।
भदौ २३ र २४ गते जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको आयोगले प्रतिवेदनमा देशभरका कारागारबाट कैदीबन्दी निस्किने र भौतिक संरचनामा समेत तोडफोड गर्नेजस्ता घटना घट्दा भीमफेदी कारागारमा सम्भावित ठूलो क्षति हुनबाट जेलर पौडेलको नेतृत्वले बचाएको निचोडसहित पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रतिवेदन अनुसार भिमफेदी कारागारमा भदौ २४ गते रातिदेखि २५ गते बिहानसम्म कारागारभित्र तोडफोड, आगजनी तथा कैदी फरार गराउने जोखिम उच्च रहेको अवस्थामा सुरक्षात्मक तयारीलाई प्रभावकारी बनाइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाबीचको समन्वयलाई मजबुत बनाउँदै सुरक्षा निकाय परिचालन गरिएको थियो । सो क्रममा जेलर पौडेलले अग्रसरता लिँदै सम्भावित ठूलो दुर्घटना टार्न महत्वपूर्ण भूमिका खेलेको आयोगको निष्कर्ष छ । जोखिमपूर्ण अवस्थामा पनि जिम्मेवारीपूर्ण ढंगले कार्यसम्पादन गरेको भन्दै पौडेललाई राज्यबाट उचित सम्मान र पुरस्कार दिनुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ ।
आयोगले घटनाको मूल्याङ्कन गर्दै प्रभावकारी सुरक्षा व्यवस्थापनका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको उल्लेख गरेको छ ।
लामो समय स्थानीय तहमा काम गरेर आएका पौडेल नीतिगत कार्यसम्पादन र सरोकारवाला बीचको समन्वयमा अब्बल राष्ट्रसेवक कर्मचारी हुन् । निजामती सेवा प्रवेशसँगै केही समय गाविस सचिव, स्थानीय तह गठनपछि अधिकृत बनेर ओखलढुंगाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत, उपसचिव बनेपछि अध्यागमन विभाग र काभ्रेपलान्चोक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी समेत बनेर काम गरिसकेका पौडेल हाल भिमफेदी कारागारमा जेलर छन् ।
गतवर्षको असोजमा बाढीपहिरो आउँदा पौडेल काभ्रेपलान्चोक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । विपद्को उक्त समयमा पनि पौडेलले काभ्रेमा हुनसक्ने जनधनका क्षति रोक्न प्रशासनिक नेतृत्व गरेर समन्वय गर्दै उद्धार र राहतका कामलाई प्रभावकारी बनाएका थिए । उक्त कार्यको प्रशंसा गर्दै काभ्रेका सरोकारवालाले पौडेललाई सरुवा हुँदा सम्मानसहित विदाई गरेका थिए ।
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले भदौ २३ र २४ को घटनाको छानविन प्रतिवेदन कार्यान्वयनमा ल्याइसकेको छ । प्रतिवेदनमा उक्त घटनामा कमजोरी गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । पुरस्कृत गर्न सिफारिसमा परेकाहरु केही निजामती कर्मचारी र सुरक्षाकर्मी छन् । कारबाहीको सिफासिरसमा गरेकाहरु तत्कालिन प्रधानमन्त्री, गृहमन्त्रीलगायतका राजनीतिक नेतृत्व छन् ।

प्रतिक्रिया