ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रिने

नुतन श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा सडक आन्दोलनमा उत्रिने भएको छ ।

एमालेका सचिव महेश बस्नेत ले सामाजिक सञ्जाल फेसबुक मार्फत् पार्टीका नेता–कार्यकर्ता तथा समर्थकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ बस्नेतले लेखेका छन् । उनले प्रदर्शनसम्बन्धी विस्तृत कार्यक्रम छिट्टै सार्वजनिक गरिने पनि जानकारी दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । उक्त घटनाले देशमा राजनीतिक द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ ।

‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,’ बस्नेतले उल्लेख गरेका छन् ।

त्यस्तै, उनले नेपाल प्रहरी को भूमिकाप्रति पनि टिप्पणी गरेका छन् । आन्दोलनका क्रममा निष्क्रिय देखिएको भन्दै आलोचना गर्दै उनले अहिले नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।