डाइभर्सन बगाएपछि बिपी राजमार्ग बन्द, यात्रु अलपत्र

File Photo

अविरल वर्षाले देशकै महत्वपूर्ण सडक सञ्जालमध्ये एक बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग ठप्प बनेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाह का अनुसार वैकल्पिक मार्ग बाढीले बगाएको छ।

“निर्माणाधीन अवस्थामा रहेको सडक रोशी खोलाकै किनारमा भएकाले बहाव बढ्दै जाँदा राजमार्गमै पानी पस्यो र पूर्ण रूपमा अवरुद्ध भयो,” उनले जानकारी दिए।

राजमार्ग बन्द भएसँगै काभ्रे खण्डतर्फका सवारी साधनहरू भकुण्डे र कटुन्जेमा रोकिएका छन् भने सिन्धुलीबाट आउने सवारी साधनलाई दुम्जा र अन्य चेकपोस्टमा होल्ड गरिएको छ।

सडक विभाग र स्थानीय तहसँग समन्वय गरी मार्ग खुलाउने प्रयास जारी रहे पनि वर्षा जारी रहेकाले तत्काल सञ्चालनमा आउने सम्भावना अनिश्चित देखिएको छ।

यस घटनाले पुनः निर्माणाधीन पूर्वाधारको जोखिम र वैकल्पिक मार्गको कमजोरी उजागर गरेको छ। २०८१/०८२ को बाढीले क्षतिग्रस्त बनाएको भकुण्डे–नेपालथोक खण्ड अझै निर्माणाधीन रहेकाले अस्थायी डाइभर्सनमा निर्भरता बढेको थियो।

प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।