इजरायलको घोषणालाई पुष्टि गर्दै इरानी सरकारी सञ्चारमाध्यमहरूले आफ्ना सुरक्षा प्रमुख अली लारिजानीको मृत्यु भएको बताएका छन् ।
यसअघि इरानी सञ्चारमाध्यमका केही रिपोर्टहरूले लारिजानी जीवितै रहेको र चाँडै उनको सन्देश जारी हुने बताएका थिए ।
लारिजानी इरानको सुरक्षा र विदेश नीतिमा अत्यन्तै महत्त्वपूर्ण व्यक्ति हुन् । उनी इरानका एक अत्यन्त प्रभावशाली र अनुभवी नेता हुन् ।
उनी इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव थिए । यो इरानको सबैभन्दा शक्तिशाली सुरक्षा निकाय हो, जसले रक्षा, आणविक नीति र रणनीतिक निर्णयहरू सम्हाल्छ ।
नयाँ सर्वोच्च नेता मुजतबा खामेनीको अनुपस्थितिमा लारिजानीलाई ‘नम्बर २’ मानिँदै आएको थियो । उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले यस पदमा नियुक्त गरेका थिए ।
यसअघि उनी पूर्वसर्वोच्च नेता आयतुल्लाह अली खामेनीका प्रतिनिधि र सल्लाहकार थिए ।
लारिजानीको जन्म सन् १९५७ मा इराकको नजफमा भएको थियो । उनको परिवारको इरानी राजनीतिमा लामो इतिहास छ । उनका पिता एक प्रमुख शिया धर्मगुरु थिए, जो इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खुमेनीका निकट थिए । लारिजानीले तेहरान विश्वविद्यालयबाट पश्चिमी दर्शनमा पीएचडी गरेका छन् ।

प्रतिक्रिया