अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सोमबार बिहान ५० वर्षभन्दा माथिका एक नेपालीले श्रीमती र छोरीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । ती व्यक्तिले आफ्ना ज्वाइँलाई पनि गम्भीर घाइते बनाएका छन् । प्रहरीको गोली लागेपछि आक्रमणकारीको पनि मृत्यु भएको छ ।
सामाजिक सञ्जालमा नेपाली परिवारभित्र यो घटना भएको बताइए पनि अहिलेसम्म कसैले पनि संलग्न व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन ।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले यस घटनालाई आफ्नै परिवारमाथि गरिएको नरसंहार भनेका छन् । घटनास्थलमा पुग्दा प्रहरीले रगतले लतपतिएको बिभत्स दृश्य देखेको बताएका छन् । ती व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।
ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका बेला घरभित्रबाट झगडाको आवाज सुनेर भित्र पुग्दा उनले श्रीमती चक्कु प्रहारपछि ढलेको र ससुराले सासूमाथि आक्रमण गरिरहेको देखेको समाचारमा उल्लेख छ ।
ज्वाइँले तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ती व्यक्तिले आफ्नै ज्वाइँमाथि पनि चक्कु प्रहार गरेका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा ती व्यक्तिले ज्वाइँमाथि आक्रमण गरिरहेका थिए । पटक–पटक हतियार फाल्न भन्दा पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर ५० वर्षे आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
स्थानीय अनलाइन सञ्चारमाध्यमका अनुसार आक्रमणमा ती व्यक्तिकी छोरीको घटनास्थलमै र श्रीमतीको अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।
ज्वाइँको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । घरभित्र एक वर्षको सानो शिशु पनि रहेको तर उसलाई कुनै चोट नलागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि उक्त घरमा कुनै पनि झगडा वा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएको थिएन ।

प्रतिक्रिया