नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी मुख्यालय सानेपा ललितपुरमा आज बसेको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर चुनावमा केन्द्रित हुने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जाने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो । उपसभापति विश्वप्रकाश शर्माले बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । उहाँको प्रस्तावलाई बैठकले पारित गरेको चालिसेले जानकारी दिनुभयो ।
काठमाण्डौको भृकुटीमण्डपमा गएको पुस २७ देखि ३० गतेसम्म भएको पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति चयन भएपछि गगन थापा आज पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पुग्नुभएकाे हाे । सभापति थापासहितका पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि केन्द्रीय समितिको बैठक बसेको थियो ।
सभापति थापाले सर्लाही क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । कांग्रेसमा शेरबहादुर देउवा पक्षको असन्तुष्टिकाबीच निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया