आसन्न निर्वाचनका लागि भारतबाट सहयोगको पहिलो चरण हस्तान्तरण


आसन्न निर्वाचनको तयारीका लागि भारत सरकारले उपलब्ध गराएको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण सोमबार काठमाडौंमा औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृह मन्त्री ओमप्रकाश अर्याललाई ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधनसहित आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा गृह मन्त्री अर्यालले भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्दै निर्वाचन व्यवस्थापनमा सवारीसाधन तथा सामग्रीको ठूलो भूमिका रहने बताए। उनले नेपाल–भारत सम्बन्ध गहिरो, बहुआयामिक र सहयोगपूर्ण रहेको उल्लेख गर्दै यस्ता सहयोगले दुई देशबीचको आपसी विश्वासलाई अझ सुदृढ बनाउने धारणा राखे।

भारत सरकारले नेपाल सरकारको अनुरोधका आधारमा सन् २००८ यता निर्वाचनसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ। यस अवधिमा निर्वाचन आयोगसहित विभिन्न मन्त्रालय र निकायका लागि करिब २ हजार ४ सय सवारीसाधन भारतले उपहारस्वरूप उपलब्ध गराइसकेको छ। आगामी निर्वाचनका लागि करिब ६ सय ५० सवारीसाधन सहयोग स्वरूप प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ, जुन आगामी केही हप्ताभित्र चरणबद्ध रूपमा हस्तान्तरण हुने बताइएको छ।

भारतीय पक्षबाट निरन्तर भइरहेको यस्तो सहयोगले नेपाल-भारतबीचको बहुक्षेत्रीय विकास साझेदारी मात्र होइन, दुई देशका जनता बीचको ऐतिहासिक मित्रता र पारस्परिक विश्वासको प्रतीकसमेत झल्काउने कूटनीतिक सन्देश दिएको गृह मन्त्रालयको भनाइ छ।