निर्वाचन आयोगले नेपाली कांग्रेसकाे दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सडक आन्दोलन थालेका छन् । उनीहरूले आयोगको निर्णयलाई अवैधानिक भन्दै सडक प्रदर्शन थालेका हुन् ।
आज उनीहरूले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् । आयोगको कदम संविधान, कानून र पार्टी विधान विपरीत भएको भन्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको देउवा पक्षले आन्दोलन पनि थालेको छ ।
यसअघि अस्ति शुक्रवार आयोगको निर्णय सार्वजनिक भएलगत्तै देउवा पक्षका नेता/कार्यकर्ताहरूले आयोग परिसरमा विरोध प्रदर्शन गरेका थिए । देउवा पक्षले निर्णयविरुद्ध देशभर प्रदर्शन र आन्दोलन गर्ने जनाएको छ ।
कांग्रेसका ५३ प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा काठमाण्डौमा विशेष महाधिवेशन गरि गगन थापा सभापतिमा चयन भइसक्नुभएको छ । देउवा पक्षले विशेष महाधिवेशनलाई विधान विपरीत भएको दाबी गर्दै आएको छ । कांग्रेसको विवाद बढ्दै गएपछि आउँदो चुनाव प्रभावित हुन सक्नेसम्मको आँकलन गरिएको छ ।
यसैबीच नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह चुनावी तालिका स्थगनको मागसहित निर्वाचन आयोग जाने तयारीमा छ ।

प्रतिक्रिया