सुनिल शर्माले भने- एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने प्रयास अस्वीकार्य


नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा पार्टीमा कसैलाई हेप्ने र पेल्ने कुरा स्वीकार्य नहुने बताएका छन् । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरेर एकताको नाममा कसैलाई कारबाही गर्न पनि नपाइने शर्माले बताए ।

उनले भने, ‘एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ । यस्तो अवस्था आयो भने जिम्मेवार कार्यकर्ताहरू जुर्मुराउनुपर्छ र त्यो निकास अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।’

उनले कांग्रेस सङ्कटमा परे देश सङ्कटमा पर्ने भन्दै सबै नेता कार्यकर्तालाई उच्च जिम्मेवारी र संयमका साथ अघि बढ्न आह्वान गरे।

अहिले आफूहरूको पहलमा वार्ता समिति बनेर छलफल सुरू भएको भन्दै शर्माले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । विशेष महाधिवेशनलाई पार्टी नेतृत्वले स्वीकार गर्नुपर्ने उनको तर्क छ ।