महाधिवेशनपछि खुलामञ्चको हरियाली फर्काइँदै


नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।

महाधिवेशनका विभिन्न कार्यक्रम र सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो मासिएपछि मैदानलाई पुरानै अवस्थामा फर्काउन पुनःरोपण थालिएको हो।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिको पहलमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने तथा क्षतिग्रस्त स्थानको मर्मतसम्भार गर्ने काम भइरहेको छ।

खुलामञ्चको प्राकृतिक सौन्दर्य र हरियाली कायम राख्दै मैदानलाई पुनः सुन्दर बनाउने उद्देश्यले काम अघि बढाइएको हो। पुनःरोपणपछि खुलामञ्चले पुरानै स्वरूप र हरियाली प्राप्त गर्ने अपेक्षा गरिएको छ।