प्रधानमन्त्रीको निर्णयमा रास्वपाको पूर्ण समर्थन : खरेल


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन शाहले सरकार सञ्चालनका क्रममा चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन्।

विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन्।

सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने उनको भनाइ छ। सरकार सञ्चालनसम्बन्धी निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले गलत भइरहेको महसुस गरेर आवश्यक कदम चाले पार्टीको पूर्ण समर्थन रहने बताए।

गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका अन्य व्यक्तिहरूबारे सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको पनि उनले जानकारी दिए। ती विषयमा प्रधानमन्त्रीको धारणा र सरकारले चाल्ने कदमबारे पार्टीले प्रतीक्षा गरिरहेको उनको भनाइ छ।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई हटाउने वा राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे। उक्त विषय सरकारको विवेक र निर्णयमा निर्भर रहने भन्दै अदालतमा समेत विषय प्रवेश गरिसकेकाले सरकारले आवश्यकताअनुसार थप स्पष्ट पार्दै जाने उनले बताए।

यसैबीच, रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा चीन भ्रमणमा जाने भएको छ। चीनको सत्तारुढ दलको निमन्त्रणामा हुन लागेको भ्रमण दुई देशका सत्तारुढ दलबीचको सम्बन्ध विस्तारसँग सम्बन्धित रहेको प्रवक्ता खरेलले जानकारी दिए।