नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा चितवन र कर्णाली भिड्नेछन्। चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको खेल जिते पनि चितवनले इलिमिनेटर नै खेल्नुपर्नेछ।
यता, कर्णाली याक्स भने प्लेअफ दौडबाट बाहिरिसकेको छ। प्रतियोगितामा ६ खेल खेलेको कर्णालीले दुई खेलमा मात्र जित हात पारेको छ।
त्यस्तै, आजै साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं यस खेल जित्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिने लक्ष्यमा हुनेछ।
पोखरा भने प्लेअफ दौडबाट बाहिरिसकेको छ। प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको पोखराका लागि आजको खेल लिग चरणको अन्तिम अवसर हुनेछ। यससँगै एनपीएलको लिग चरणका खेलहरू समाप्त हुनेछन्।

प्रतिक्रिया