डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन्।
स्रोतका अनुसार कैदीहरू कारागारभित्र सुरुङ खनेर शुक्रबार राति फरार भएका हुन्।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ।
प्रहरीका अनुसार घटनाको स्थलगत निरीक्षण र अनुसन्धानपछि मात्रै फरार कैदीको संख्या तथा पहिचान यकिन हुनेछ।
‘अहिलेसम्म ८ जना भन्ने जानकारी आएको छ। तर, डीएसपीसहितको टोली कारागारतर्फ गएको छ। कति जना र कोको फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक होला’, स्रोतले भन्यो।
घटनाबारे कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयले औपचारिक विवरण सार्वजनिक गरिसकेका छैनन्।

प्रतिक्रिया