गोरखा–धादिङ राजमार्ग पूर्ण अवरुद्ध, कर्णाली राजमार्ग एकतर्फी सञ्चालन


बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा सीमित रूपमा यातायात सञ्चालन भइरहेको जनाएको छ।

गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ अन्तर्गतका सडक खण्ड तथा वडा नं. ९ नयाँपुलस्थित सोतीको फलामे पुल अवरुद्ध छन्। गोरखाको आरुघाटबाट धादिङ जोड्ने राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा–धादिङ सडक खण्डमा भने साना सवारीसाधन मात्र सञ्चालनमा आएका छन्।

त्यसैगरी, पहिरोका कारण सुर्खेतको बराहताल गाउँपालिका–७ औंलिसेस्थित कर्णाली राजमार्ग प्रभावित भएको थियो। हाल उक्त राजमार्गमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।