सर्बियामा आलेक्जान्दर बुचिच नेतृत्वको १४ वर्ष लामो शासन अन्त्य भएको छ। आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिचको सत्तारूढ दल पराजित भएको हो।
बुचिचले आफ्नो दलको पराजय स्वीकार गरेका छन्। प्रारम्भिक मतपरिणामअनुसार २५० सिट रहेको सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा बढी सिट जितेको छ भने सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टीको गठबन्धन १०५ सिटमा सीमित भएको छ। निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको थियो।
निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी बेलग्रेड र नोभी सादलगायत प्रमुख सहरमा हजारौँ नागरिकले विजय उत्सव मनाएका छन्।
यस राजनीतिक परिवर्तनको आधार नोभेम्बर २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट छानो भत्किँदा १६ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले तयार पारेको थियो। सरकारी भ्रष्टाचार, कमिसनतन्त्र र निर्माण कार्यमा भएको लापरबाहीविरुद्ध सुरु भएको आन्दोलन पछि राजनीतिक अभियानमा परिणत भएको थियो।
विद्यार्थीहरूले परम्परागत राजनीतिक दलका नेताहरूलाई अघि नसारी चिकित्सक, प्राध्यापक, कलाकार, खेलाडी र कृषकलाई समेटेर उम्मेदवारको सूची तयार पारेका थिए। निर्वाचनमा उनीहरूका अधिकांश उम्मेदवार विजयी भएका छन्।
बुचिचले रुस, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध कायम राख्दै आएका थिए। उनको पराजयपछि सर्बियाको अन्तर्राष्ट्रिय सम्बन्धमा समेत परिवर्तन आउन सक्ने अनुमान गरिएको छ। युरोपेली सङ्घसँग नजिकको सम्बन्ध चाहने युवा पुस्ताको प्रभाव बढेसँगै सर्बिया युरोपेली लोकतान्त्रिक प्रणालीतर्फ थप उन्मुख हुन सक्ने अपेक्षा गरिएको छ।
निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेपछि ‘स्टुडेन्ट लिस्ट’ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेछ। बुचिचको राजनीतिक भविष्यसमेत अनिश्चित बनेको छ।

प्रतिक्रिया