अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति गोकुल बास्कोटाको आपत्ति


नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेपाल–भारत सम्बन्ध र राष्ट्रवादसम्बन्धी अभिव्यक्तिको आलोचना गरेका छन्।

भारत भ्रमणका क्रममा वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन्। उनले वाग्लेको भनाइलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ को संज्ञा दिएका छन्।

‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्। नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हित सम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो,’ बास्कोटाले लेखेका छन्।

हालै भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले विगतमा नेपालमा ‘भारतको विरोध गर्नु नै राष्ट्रवाद हो’ भन्ने भाष्य निर्माण गरिएको र नयाँ पुस्तामा त्यो सोच परिवर्तन भइसकेको धारणा व्यक्त गरेका थिए।