आइसिसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले चीन र भारतमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
नेपाल क्रिकेट सङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू–१९ महिला टी–२० अन्तर्राष्ट्रिय’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्यान्ड र हङकङका टोली सहभागी हुनेछन्।
त्यसपछि नेपाली टोलीले नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खला खेल्नेछ। उक्त शृङ्खलामा नेपालसहित भारतका यू–१९ महिला ‘ए’ र ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट सङ्घले जनाएको छ।
यी दुवै प्रतियोगितालाई नेपाली टोलीले आगामी विश्वकपको तयारीका रूपमा उपयोग गर्नेछ।


प्रतिक्रिया