ओलीको बोली : ‘नजिकै आएर कमरेड भन्दै छुरा हान्छन्, जति हाने पनि ढल्दिनँ’

नुतन श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध चौतर्फी हमला भइरहेको बताएका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नै नजिकका व्यक्तिहरूबाट समेत धोका पाएको टिप्पणी गरेका हुन् ।

पार्टीभित्रका असन्तुष्ट नेताहरूप्रति लक्षित गर्दै ओलीले नजिकको साथी बनेर आउनेहरूले नै छुरा हान्ने गरेको बताए ।

‘यसो हेर्‍यो आफ्नै साथी जस्तो लाग्छ । कमरेड भन्छ, नजिक आउँछ, कमरेड भन्छ, ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने ? कता नजोगिने ?’ उनले भने ।

आफूलाई विभिन्न पक्षबाट प्रहार भए पनि विचलित नहुने बताउँदै ओलीले भीष्म पिताको प्रसंगसमेत निकाले । ‘मैले अस्ति भेलामा पनि भनेको थिएँ । भीष्म पिता जति म त्यति बूढो भएको छैन, ढल्दिनँ । जति हाने पनि ढल्दिनँ,’ उनले भने ।

ओलीले आफूले ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियान सुरु गरेको दाबी गरे । राजनीतिक यात्राका क्रममा जेल जीवन बिताउनुपरेको तथा विभिन्न आरोप र मुद्दा खेप्नुपरेको स्मरण गर्दै उनले आफ्नो संघर्ष देश र जनताका लागि भएको बताए ।

‘म चाहिँ मर्ने इच्छा गर्दिनँ । इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन । लडिन्छ यो देशका लागि र मलाई चिन्ता छैन । किनभने मैले मेरो लागि कामै गरेको होइन । सधैँ मैले देश र जनताका लागि काम गरेको छु,’ ओलीले भने ।

पार्टीभित्रको असन्तुष्टि र आफूविरुद्ध भइरहेको प्रहारबारे बोलेका ओलीले आफू अन्तिम समयसम्म पनि नझुक्ने र राजनीतिक संघर्ष जारी राख्ने सन्देश दिएका छन् ।